बुधबार, माघ २१, २०८२

अराजकता अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य जरुरी : अध्यक्ष नेपाल

मेरोन्यूज २०८० मंसिर ९ गते २०:२३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।


पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैं पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताए ।

नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने विचार फैलाएर जनताको भावनामाथि खेलिरहेका समूहबाट सचेत रहन आग्रह गरे । गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति अहिले परिचालित रहेको बताउँदै अध्यक्ष नेपालले भने, “म जनतालाई अनुरोध गर्न चाहन्छु, हामीले सत्य कुरा भुलेर भीडको पछि लाग्नु हुँदैन ।”

पीडितको मुद्दा उठाउने बहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताउँदै उनले भने, “बैंकबाट ऋण लिएका मान्छेलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन् । खास पीडित को हुन् रु कसरी उनीहरू पीडित भएका हुन्, त्यसको खोजी गर्नुपर्छ ।”

कार्यक्रममा अध्यक्ष नेपालले सहिदहरूको बलिदानी, जनताको कठोर सङ्घर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न तयार हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया