बुधबार, वैशाख १६, २०८३

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्रीमा निषेध

मेरोन्यूज २०८० मंसिर १२ गते २१:४३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ ।

Advertisement
NiccNicc

कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार ९चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने० सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताईएको छ ।

प्रमुख पौडेलले भने, “हामी स्वस्थ्य सहर निर्माणको अभियानमा रहेका छौँ । उनान्तीसौँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।” उनका अनुसार काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्नसक्ने व्यवस्था छ ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यससम्बन्धी व्यवस्था छ ।

विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थल ९शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।

ऐनले सार्वजनिकस्थलको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्नसक्ने व्यवस्था छ । सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।


प्रतिक्रिया