बुधबार, माघ २१, २०८२

जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण

मेरोन्यूज २०८० मंसिर १३ गते ११:३५

घोराही (दाङ) । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ ।

खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक विष्ट कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताए।

सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उनको भनाइ थियो । उनले भने “जोत्नसँगै धानलगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिन्छ । ”

गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको भने, “गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छाडिसकेका छन् । जसले गर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहने गरेको थियो तर पछिल्लो समय प्रविधिका सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफैँ लगाउने गरेको छु ।”

उनका अनुसार प्रविधिको सहयोगले कृषि पेसालाई सहज छ । घोराही उपमहानगरपालिका–७ निवासी किसान चेतराम चौधरी विगत चार वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको बताए। उनले भने, “आफू वृद्धसँगै छोराहरु छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउनेसमेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।”

पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको जनाइएको छ । उनी भन्छन्, “गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन् । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन् । यस्तो अवस्था अधिकांशको खेतभरि बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्नका लागि ट्र्याक्टर र दाउनका लाथि थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।”

उनका अनसार धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको जनाउँदै उनले भने, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।”

कृषि ज्ञानकेन्द्र दाङका कृषि विज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रीकरणमा सहयोग गर्दै आएको बताए । उनका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया