टीकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

टीकापुर (कैलाली) । कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुःख झेलिरहेकी महतो टीकापुरमै दुरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुसी भएकी छन् ।
“पेट चिर्नुपर्छकि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ”, उनले भनिन्, “समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु । अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।”
महतोका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताए । “अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ”, उनले भने, “स्वास्थ्य बीमा भएकाले उपचार खर्च कम लागेको हो ।”
चिकित्सकका अनुसार सामान्यतया दुरबीनको माध्यमबाट पेट नचिरी सानो–सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ ।
अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सञ्जयकुमार दासले बताए । “टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो”, उनले भने, “पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ । उहाँलाई शल्यक्रिया गरिएको तीन दिनमै घर पठाएका छौँ ।”
शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा दास, डा नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रङ्गीना चौधरीलगायत प्रसूति बार्डका नर्सहरुको टोली खटेको थियो ।
डा दासले दुरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताए । “ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्दतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ”, उनले भने, “यो विधि बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।”
















साफ महिला च्याम्पियनसिप : भुटान भारतसँग पराजित
ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु
अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया