आइतबार, वैशाख २७, २०८३

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : सभापति देउवा

मेरोन्यूज २०८० मंसिर २५ गते १८:५३

जनकपुरधाम (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

धनुषाको औरही गाउँपालिका-४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए ।

सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे ।

“स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु”, सभापति देउवाले भने ।

कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई(दुईपटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए ।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । आगामी महासमिति बैठकमा सङ्घीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी पार्टी सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै सङ्घीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकृष्ण यादव, पार्टीका प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, धनुषा सभापति योगेन्द्र पजियार, स्व सिंहका छोरा डा कुनाल सिंहलगायतले सङ्घीयता कार्यान्वयन, बेरोजगारी समस्या समाधान र विकासको गति बढाउन ठूलो पार्टीका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

विसं २०१३ वैशाख २ गते जन्मिएर गत वर्ष मङ्सिर १ गते दिवङ्गत भएका सिंह लगातार चार कार्यकाल क्षेत्र नं २ को सर्वसम्मत सभापति भएका थिए ।

पञ्चायतकालमा प्रजातन्त्र पुनर्बहालीका लागि पार्टीको क्रियाशील सदस्य भएर लाग्ने थोरै नेताहरुमध्ये सिंह पनि एक थिए ।

प्रतिक्रिया