आइतबार, वैशाख २७, २०८३

नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि पर्‍यो : ओली

मेरोन्यूज २०८० मंसिर २७ गते १७:३१

टक्सार (भोजपुर) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन्।

Advertisement
NiccNicc

एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताए । ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमानदार सरकार बनेन भने जनता र जनताका हीतहरुप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ । पछाडि पर्छ । कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो’ उनले भने ।

अध्यक्ष ओलीले उपयुक्त, दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार बनेन भने देश गरिब हुने बताए ।

यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत् टोली भोजपुर पुगेको थियो । अध्यक्ष ओली सहितको टोलीलाई भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भञ्ज्याङमा स्वागत गरिएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुँदै सङ्कल्प यात्राको टोली यही मङ्सिर २८ गते धनकुटा प्रस्थान गर्ने छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष महासचिव शङ्कर पोखरेल, उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायतका नेता, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि सङ्कल्प यात्रामा सहभागी छन् ।

सङ्कल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया