मंगलबार, माघ २०, २०८२

पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताको हौसला

मेरोन्यूज २०८० मंसिर २७ गते २०:५२

बेनी (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गरेका छन् ।

माछखर्कबाट कुनौटाघाट जोड्ने जीर्ण गोरेटोबाटोको पुनःनिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा आज नेताले श्रमदान गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पार्टीका प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका पूर्वप्रदेशसभा सदस्य विनोद केसी, पार्टीको गण्डकी प्रेदश कमिटी सदस्य रिम कटुवाल, बेनी नगर कमिटीका सचिव ज्ञानेन्द्र सुवेदी, पार्टीको जिल्ला समन्वय समितिका सदस्य नरबहादुर भण्डारीलगायतको टोलीले आज दिनभर श्रम शिविरमा श्रमदान गरेका थिए ।

पार्टीको जिल्ला समन्वय समितिबाट एक दर्जन बढीले बुधबार पदमार्ग बनाउन श्रमदान गरेको जनाइएको छ । गत असोज १८ गतेदेखि नेकपा ९माओवादी केन्द्र०को वडा कमिटीले गाउँदेखि मूल सडक जोडिने जीर्ण पदमार्गको पुनःनिर्माणमा श्रमदान अभियान सुरु गरेको थियो । पार्टीले सुरु गरेको कार्यक्रममा स्वतस्फुर्त रुपमा समुदाय नै श्रमदान र सहयोगमा जोडिने क्रम बढेपछि पदमार्ग निर्माणले निरन्तरता पाएको अभियानको नेतृत्व गर्नुभएका वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवालले बताए ।

“हामीले चलाएको श्रम शिविरमा आज मन्त्री र सांसद पनि श्रमदानमा जोडिन आउनुभयो, उहाँहरुले श्रम शिविरमै आएर श्रमदान गर्दा हामीलाई थप हौसला थपिएको छ, समुदाय र देश तथा विदेशमा छरिएका स्थानीयवासीले सक्दो सहयोग गर्नुभएको छ, निकट भविष्यमै हामीले लक्ष्य लिएको ठाउँसम्मको काम सम्पन्न गर्छौं”, कटुवालले भने । उनका अनुसार, अहिलेसम्म करिब एक किलोमिटर चार सय मिटर पक्की पदमार्ग निर्माण भइसकेको छ । श्रमदान र सहयोगबाट पदमार्ग निर्माणले पूर्णता नपाएमा मन्त्री र प्रदेशसभा सदस्यलाई आवश्यक बजेटको लागि मागसमेत गरिने कटुवालले बताए ।

यसैबीच श्रमदान अभियानमा पुगेको नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिको टोलीले पदमार्ग निर्माण अभियानमा आर्थिक सहयोगसमेत गरेको छ । पार्टीको वडा कमिटीले सञ्चालन गरेको माछखर्क–कुनौटाघाट पदमार्ग र स्थानीय युवाले समेत हालै सुरु गरेको सिरवारी आर्यघाटबाट रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण अभियानमा रु १०/१० हजार नगद सहयोग प्रदान गरेको हो । श्रम शिविरमा श्रमदान गर्नुभएका मन्त्री जुग्जालीले राज्यले गर्नुपर्ने काममा समुदायकै श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरी उदाहरणीय काम गरेको भन्दै अभियानमा जोडिनेको प्रशंसा गरे ।

पदमार्ग निर्माणमा स्थानीयवासीले एक महिनासम्म श्रमदान गरेका छन । सहयोगदातामार्फत सङ्कलन भएको रकमबाट बालुवा, गिट्टी, सिमेन्टलगायतका निर्माण सामग्रीको व्यवस्थापन तथा थप जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणलाई निरन्तरता दिने गरिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । यो अभियानमा अहिलेसम्म रु १६ लाख बढी सहयोग सङ्कलन भएको जनाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ ।

बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटाबाट माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको छ । ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेका छन् भने विभिन्न टोल र बस्तीका आमा समूहहरुले श्रम शिविरमा खाजाको बन्दोबस्त गरिरहेका छन् । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एक मिटर फराकिलो बनाइएको छ । भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको छ ।

प्रतिक्रिया