हात्ती आतङ्कले खोसियो गाँस

महोत्तरी । जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।
“हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला ?” हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, “मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ ।” शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ ।
हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउँछीन् । घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उनी सुनाउछिन् । “माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासी घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो”, माझी शुक्रबार बिहान झिसमिसेको घटना सम्झँदै भन्छिन्, “चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचँे ।” घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँच÷छ क्विन्टल धान छरेको छ ।
राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ । भुजेल पनि आपूm कालको मुखबाटै जोगिएको बताउछन् । भुजेल सुतिरहेको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताए । दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए । यसअघि गत बुधबार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो ।
पछिल्ला करिब दुई महिनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ । दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् । काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पु¥याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् । यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ । सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ ।
बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ । यसैबीच बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ ।















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया