शुक्रबार, फागुन २९, २०८२

जुँगे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ

मेरोन्यूज २०८० पुष २३ गते १२:४९

राँझा(बाँके) । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेव मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि गतवर्ष चैतमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रलगत्तै काम सुरु भए पनि पुनःनिर्माणले गतिलिन सकेको छैन ।

सुरुवाती चरणमा पानी सुकाएर तालमा घाट निर्माण भए पनि निर्माण अघि बढ्न सकेन । जुँगे महादेवको मन्दिर वागीश्वरी तलाउको बीच भागमा रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइएको हो । मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको जनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जुँगे महादेव मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बताए । तलाउको बीचमा रहेको मन्दिरसम्म पुग्न वर्षौँ पहिले बनाइएको प्रवेशमार्ग जीर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, घाटको काम करिब भइसकेको छ”, नगरप्रमुख विष्टले भने,“नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाट क्षेत्र फराकिलो हुनेछ ।”

गत वर्ष निर्माणका लागि पानी सुकाउने क्रममा निर्माण सामग्री फस्ने लगायतका कारणले निर्माणमा ढिलाइ भएको उपमहानगरपालिकाका इञ्जीनीयर सुरज शर्माले बताए। प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको उनको भनाइ छ ।

प्रसिद्ध वागीश्वरी मन्दिर परिसरभित्र तालको बीचभागमा रहेको जुङ्गे महादेवको मूर्ति भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रि लगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको धेरै भीड हुने समयमा दुर्घटनाको जोखिम रहेको थियो ।

पुनः निर्माणमा ढिलाइ हुँदा वागीश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएको भन्दै नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले समयसीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया