बगरखोला जलविद्युत् आयोजनाको निर्माणस्थल परिवर्तन गर्न माग

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन् ।
रघुगङ्गा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ ।
रघुगङ्गा–७ ले मङ्गलवार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण गर्न प्रस्ताव गरिएको उक्त आयोजनाले वातावरणीय र प्राकृतिक स्वरुपमा समेत प्रतिकूल प्रभाव पार्ने निष्कर्ष निकालेको छ । साथै भेलाले यथास्थितिमा आयोजनालाई अघि नबढाउन माग समेत गरेको छ ।
गाउँकै नजिकबाट बग्ने खोलाको पानीलाई सुकाएर जलविद्युत् निर्माण गर्दा बगरखोलाको अस्तित्व समाप्त हुने र गाउँको फेदीतर्फ विद्युत्गृह बनाउँदा गाउँको प्राकृतिक स्वरुप बिग्रने भएकाले अहिले प्रस्तावित ठाउँमा आयोजनालाई बनाउन नदिने निर्णय गरेको वडाध्यक्ष थकबहादुर पाइजाले बताए ।
उनका अनुसार गाउँको छेउमा रहेको धमाखु खेलमैदानदेखि माथि रहेको कुकुर भुक्ने स्थानतर्फ विद्युत्गृह रहनेगरी आयोजनालाई बनाउन स्थानीयले आयोजना प्रवर्द्धकहरूलाई सुझाव दिएका छन् । चिमखोलाको पात्लेखेत गाउँको फेदीमा बाँध रहने यस आयोजनाको विद्युत्गृह चिमखोला गाउँभन्दा केही तल प्रस्ताव गरिएको थियो ।
मोना हाइड्रोपावर कम्पनीका अध्यक्ष चक्रबहादुर थापालगायत आयोजना प्रवर्द्धकको टोलीको सहभागिता रहेको उक्त सर्वपक्षीय छलफलमा स्थानीयवासीले प्रभावित क्षेत्रका सरोकारवालालाई जानकारी नदिइकन आयोजनाको नक्साङ्कन भएको जनाउँदै आपत्ति जनाएका थिए ।
कार्यक्रममा प्रवर्द्धक कम्पनीका अध्यक्ष थापाले बगरखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमति लिएको कम्पनीले काम अघि नबढाएका कारण खारेजीको अवस्थामा पुगेपछि आफूहरूले सक्रियता जनाएर आयोजनालाई अघि बढाउन लागेको जानकारी गराएका थिए । उनले प्रवासी म्याग्देलीको नेतृत्वमा यस आयोजनालाई अघि बढाउन लागिएको बताउँदै आयोजना बनाउन सकरात्मक सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेका थिए ।
“प्रवासीहरूले जिल्लाको सामाजिक क्षेत्रमा वर्षौँदेखि सहयोग गर्दै आएका छौँ, अब विदेशमा आर्जन गरेको पुँजीलाई लगानीका रूपमा भित्र्याउनुपर्छ भनेर यस आयोजनालाई अघि बढाउन जमर्को गरेका हौँ, अन्य व्यक्तिले दर्ता गरेर अलपत्र परेको अवस्था पुनः पक्रिया पूरा गरेर मोना हाइड्रोपावरले आयोजनालाई अघि बढाउन लागेको हो”, उनले भने ।
बगरखोला जलविद्युत् आयोजनाको हालै विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवर्द्धक मोना हाइड्रोपावरले हिउँदमा प्रतियुनिट आठ दशमलव ४० र बर्खामा चार दशमलव ८० प्रतियुनिटका दरले विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको थियो ।
दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइप लाइनबाट ल्याएको पानीबाट उत्पादन हुने विद्युत् रघुगङ्गा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रस्ताव गरिएको छ ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया