३० करोडको खरिदमा हस्ताक्षर गरेपछि स्वास्थ्य विभागका खरिद निर्देशकको सरुवा

काठमाडौं । एक ठेकेदार कम्पनीलाई हुने गरी ३० करोडको खरिद प्रकृया टुंग्याएपछि स्वास्थ्य सेवा विभागका निर्देशक सर्वेश शर्माको सरुवा भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ३० करोडको युएसजी (अल्ट्रासाउन्ड)को टेन्डर म्याक्स मेडिटेक प्रालिलाई दिने गरी प्रक्रिया अगाडि बढाएपछि उनको सरुवा भएको स्रोतले जनाएको छ । उनको ठाउँमा अहिले वीर अस्पतालका डा.श्रवणकुमार थापालाई सरुवा गरिएको छ ।
खरिदमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक (आइतबारपछि हाल वीरमा सरुवा गरिएका) डा. सर्वेश शर्मा र महाशाखाको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाको मिलेमतो रहेको स्रोतको दावी छ । मिलेमतोमा म्याक्स मेडिटेकलाई दुई सयवटा पोर्टेबल युसएजीको टेन्डर पार्नेगरि खरिद प्रक्रिया अगाडि बढेको थियो ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माको गत आइतबार वीर अस्पतालमा सरुवा हुनु अगाडि उनले म्याक्सको ३० करोडको प्रस्ताव स्वीकृत हुनेगरि निर्णय गरेका थिए । व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनी जिईको नेपाली सप्लायर्स (एजेन्ट) म्याक्स मेडिटेक सिस्टम प्रालिलाई छनोट गर्दै सोमबार (८, जनवरी, २०२४)मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरिसकेको थियो ।
विभागको व्यवस्थापन महाशाखाले २०८० असोज तीन गते बुधबार (२० सेप्टेम्बर २०२३) मा दुई सय वटा पोर्टेबल युएसजी मेसिन (अल्ट्रसाउण्ड मेसिन) ३० करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो । करिब २० करोडमा आउने युएसजी मेसिन १० करोडभन्दा बढी मूल्य तिरेर करिब ३० करोडमा किन्ने गरी विभागले खरिद प्रक्रिया अन्तिम चरणमा पुयाएको हो ।
विभागले टेन्डर गरी लिन लागेको मेसिन उत्पादक कम्पनी जिइको एउटा युएसजी मेसिनको मूल्य सात लाखदेखि अधिकतम दश लाख पर्ने देखिन्छ । तर, महाशाखाले एउटा युएसजीलाई करिब १५ लाखमा किन्न लागेको हो । यसरी हेर्दा महाशाखाले खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको एउटा युएसजी मेसिनबाट कम्तीमा पनि पाँच लाखदेखि सात लाखसम्मको कमिसन पाउने गरी खरिदमा गरिएको स्रोतको दावी छ ।
मेसिन उत्पादन कम्पनी जिइलाई टेन्डर पार्नेगरी म्याक्स मेडिटेक (म्याक्स मेडिटेक सिस्टम प्रा. लि.) सँग सेटिङ भएको थियो । म्याक्स विमल उप्रति र यज्ञ भण्डारीले सञ्चालन गरेको हो । सो कम्पनीले खरिद गर्न लागेको युएसजी मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुयार्उन व्यवस्थापन महाशाखाबाट आइतबार हटाइएका निर्देशक डा. शर्माकै हात रहेको स्रोतको दावी छ । नेपालमा सरकारले कही कतै किनेको छैन, प्रयोगमा आएको छैन, सरकारी तवरमा कही कसैले किनेको छैन । रेडियोलिष्टहरुले मात्रै एउटा दुई वटा मात्र आएको छ स्रोतको दावी छ ।
प्रतिक्रिया