आइतबार, वैशाख २०, २०८३

माओवादीको विधान मस्यौदा तयार

माओवादीले घटाउने भयो जम्बो कमिटी

१५१ सदस्यीय केन्द्रीय समिति, १२५ सदस्यीय प्रदेश समिति र ९९ सदस्यीय जिल्ला समिति बनाउने प्रस्ताव

सिताराम अधिकारी २०८० पुष २७ गते १८:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको संगठनात्मक संरचनामा ब्यापक फेरवदल गर्ने गरि पार्टीको विधान मस्यौदा गरेको छ । आगामी फागुनमा हुने विधान सम्मेलनमा प्रस्तुत गर्ने गरी माओवादीले पार्टीको विधान मस्यौदा गरेको हो ।

Advertisement
NiccNicc

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको विधान मस्यौदा समितिले विधानको मस्यौदा आज प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर मस्यौदा समितिले आज विधानको मस्यौदा बुझाएको हो । माओवादीभित्र टिके नेतृत्व प्रणाली रहेको र जम्बो कमिटि रहेको भन्दै आलोचना भईरहेका बेला अव पार्टीलाइ तलैबाट प्रतिस्पर्धात्मक प्रणालीका आधारमा नेतृत्व चयन प्रक्रियामा लैजाने र कमिटिहरु सानो र चुस्त बनाउने भन्दै विधानको मस्यौदा गरिएको छ ।

प्रस्तावित मस्यौदामा पार्टी केन्द्रीय समिति १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ । माओवादीमा अहिले पार्टी केन्द्रीय समितिको संख्या झण्डै सााढे ३ सय हाराहारी रहेको छ । पार्टी अध्यक्षले अप्ठ्यारो फुकाउने नाममा बेला बेलदा सदस्य थप गरेको भन्दै आलोचना हुन थालेको छ ।

अब भने विधानको ब्यवस्थालाई कडाई गर्ने र तल देखि नै सहमतिमा नेतृत्व चयन नभए निर्वाचन प्रणालीबाट भने पनि नेतृत्व चयन गरेर सानो आकारको कामकाजी कमिटि बनाउने प्रस्ताव गरिएको छ ।

केन्द्रीय समिति १५१ सदस्यीय बन्दा त्यसको एक तिहाई पोलिटब्यूरो र पोलिटब्यूरोको एक तिहाई स्थायी समिति वा पदाधिकारी रहने गरि विधानको मस्यौदा गरिएको विधान मस्यौदा समितिका एक सदस्यले मेरोन्यूजलाई बताए ।

प्रस्तावित विधानको मस्यौदामा प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहने गरी १२५ सदस्यीय कमिटिको प्रस्ताव गरिएको छ । त्यस्तै जिल्लामा अध्यक्ष सचिव सहितको ७ सदस्यीय पदाधिकारी र ९९ सदस्यीय कमिटिको प्रस्ताव गरिएको छ ।

पार्टीका कमिटिमा सेल, उपशाखा, शाखा, महाशाखा, जिल्ला महानगर प्रदेश केन्द्र लगायतका संगठनात्मक संरचना प्रस्ताव गरिएको छ । ७७ ओटै जिल्लाका भूगोलमा पार्टी कमिटि बनाउने र सहरी क्षेत्रमा आवश्यकताका आधारमा विशेष समिति बनाउने समेत प्रस्ताव छ ।

यो पारम्भिक मस्यौदा हो, यसलाई पार्टीको स्थायी समिति, केन्द्रीय समितिमा छलफल गरी विधान सम्मेलनमा पेश गर्ने र त्यहाँबाट सुझाव सहित पारित गरेर जाने गरी तयारी छ,’ मस्यौदा समितिका एक सदस्यले मेरोन्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया