सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’

फिक्कल (इलाम)। इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो ।
उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए। कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैङ्क खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ ।
विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा कक्षा एकदेखि छसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैङ्क र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैङ्क लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।
“हामीले दुईवटा बैङ्कसँग सम्झौता गरेका छौँ । ती बैङ्कले सबै विद्यार्थीको खाता शून्य ब्यालेन्समा खोलिदिनाका साथै रु एक सय जम्मा गरिदिन्छ,” नगरप्रमुख राईले भने, “विद्यार्थीहरुले त्यो खातामा प्रत्येक दिन न्यूनतम रु पाँच जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ट जम्मा गरिदिन्छ ।”
कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैङ्क खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैङ्क खाता खोलिसकेको युवा, खेलकँद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताए ।
उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।

















गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया