आइतबार, फागुन १०, २०८२

भाषा सिक्दै कुमाल समुदाय

मेरोन्यूज २०८० माघ ७ गते १४:४४

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेका थिएनन् ।

Advertisement
nepal life insurencenepal life insurence

“कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन”, कुसमायाले भने, “अहिले भाषा सिक्दैछु, आफ्नो भाषा जान्नुपर्ने रहेछ ।” आफ्नै भाषा, संस्कृति रीतिरिवाजका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । “हामी त अहिलेसम्म कुमाल भाषा बोलेका छैनौँ, अब सिक्दैछौँ, सिकेपछि जानिहाल्छौँ”, उनले भने ।

सोही वडा निवासी अम्बिका कुमाललाई भने आफ्नो भाषा छ भन्ने नै थाहा थिएन । उनले भने, “मलाई त कुमाल जातिको भाषा छ होला र भन्ने थियो, हामी त अहिलेसम्म नेपाली भाषामै बोलिरहेका छौँ, कुमालको पनि भाषा छ भन्ने थाहा पाउँदा खुसी लाग्यो ।” कुमाल भाषा सिकिरहेको बताउँदै उनले अब कुमाल भाषामै घरपरिवारमा कुरा गर्ने सुनाए ।

किमलडाँडामा कुसमाया र अम्बिका जस्तै ६० जनाले आफ्नो भाषा सिकिरहनुभएको छ । यहाँका कुमाल समुदाय आफ्नो भाषा संरक्षणका लागि जुटेका छन् । भाषा, संस्कृति विस्तारै हराउँदै गएपछि सुरुमा मातृभाषा सिकाउन थालिएको छ ।

शुक्लागण्डकीमा विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदाय एकै ठाउँमा जम्मा भएर भाषाको कक्षा लिइरहेका छन् । कुमाल समाज नेपाल नगरकार्यसमिति शुक्लागण्डकीको आयोजनामा शनिबारदेखि १० दिनसम्म भाषा कक्षा सञ्चालन हुनेछ ।

भाषा संरक्षण कार्यक्रममा अभिभावक र विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत गरी ६० जनाको सहभागिता रहेको कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमालले जानकारी दिए । तालिममा अर्घाखाँचीका तिलकबहादुर कुमाल र पाल्पाका उषा कुमालले भाषा सिकाइरहेका छन् । नगरपालिकाकाले अल्पसङ्ख्यक कुमाल, भुजेल र थकाली समुदायको भाषा संरक्षणका लागि बजेट विनियोजन गरेको थियो ।

कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् । विसं २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको सङ्ख्या एक लाख २९ हजार सात सय दुई छ । तनहुँमा आठ हजार सात सय २७ जनसङ्ख्या छ भने शुक्लागण्डकीमा तीन हजार सात सय बसोबास गर्छन् ।

शुक्लागण्डकी–६, ८ र १० मा कुमाल समुदायको बसोबास छ । देशभरका कुमालमध्ये करिब १२ प्रतिशतले मात्रै आफ्नो भाषा बोल्नसक्ने कुमाल भाषाका प्रशिक्षक तिलकबहादुरले जानकारी दिए । लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालले आफ्नो भाषा बोल्छन् तर बसाइँ सरेर अन्यत्र गएकाले बोल्न छाडेको उनको भनाइ छ ।

राष्ट्र र राष्ट्रियतालाई समृद्ध बनाउन हरेक मातृभाषाको संरक्षण, प्रवद्र्धन र विस्तार हुनु जरुरी रहेको प्रशिक्षक कुमालले बताए । उनले भने, “भोलिको पुस्ताले आफ्नो मातृभाषा दैनिक व्यवहारमा प्रयोग गर्न यस्ता कार्यक्रम हरेक समुदायमा पु¥याउनै पर्छ, राज्यका तीनै तहका सरकारले स्पष्ट नीति लिए पनि कतिपय स्थानीय तहमा पाठ्यक्रम निर्माणका क्रममा कुनै जातिको बाहुल्यता भएको ठाउँमा पनि मातृभाषामै पुस्तक तयार हुन सकेको छैन ।”

मातृभाषाकै विद्यालय स्थापना गरी जनशक्ति तयार गर्नुपर्ने उहाँको सुझाव छ । उनका अनुसार देवनागरीकै लिपिमा कुमाल भाषा लेखिन्छ । भारोपेली परिवारको कुमाल भाषा नेपाली र हिन्दीसँग मिल्दोजुल्दो हुन्छ । वाक्य संरचना पनि नेपाली भाषासँगै मिल्दोजुल्दो भएकाले सिक्ने इच्छाशक्ति भएमा सिक्न अप्ठ्यारो नभएको उनको भनाइ छ ।

प्रतिक्रिया