शनिबार, फागुन ९, २०८२

सभापति देउवाद्वारा द्रौपदाको निधनप्रति दुःख व्यक्त

मेरोन्यूज २०८० माघ १० गते ११:४२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएकी महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलकी धर्मपत्नीसमेत रहेकी द्रौपदाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल तथा युवा नेता एवं समाजसेवी सुवासचन्द्र पाखेरेलकी मातासमेत रहेकी द्रौपदाको एक सय एक वर्षको उमेरमा माघ ९ गते बिहान काठमाडौँको सामाखुशी रानीबारीस्थित आफ्नै निवासमा निधन भएको थियो ।

विसं २००७ को जनक्रान्तिको समयदेखि प्रजातन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेकी स्वर्गीय पोखरेल आफ्ना पति गोवद्र्धन शर्मा पोखरेलको सर्वश्वहरणपछि विसं २०१८ को जनक्रान्तिमा सङ्लग्न हुँदा उनलाई गिरफ्तार गरेर पैदल हिँडाई पोखरा हिरासतमा राखिएको थियो ।

कांग्रेसको सङ्गठन विस्तार, राणाशासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक सङ्घर्षमा स्वर्गीय गोवद्र्धन शर्मा पोखरेल र उनकी धर्मपत्नीले पु¥याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

पार्टीका नेता तथा कार्यकर्तालाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आउनुभएकी पोखरेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेत्रीलाई गुमाएको जनाएको छ । सभापति देउवाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय पोखरेलको परिवारजनले पु¥याएको योगदानको स्मरण गर्दै स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरे ।

प्रतिक्रिया