उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक

काठमाडौँ । पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ ।
समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो ।
विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताए । यही माघ ९ गते त्यहाँ देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।
उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताए ।
नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।
विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ ।
यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ । विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया