रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको हो ।
कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रुपमा विकास हुन थालेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
“तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ”, उनले भने, “रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता रु ५० लाखभन्दा बढी लगानी गरेको छ, समुदाय र दाताले पनि सहयोग गरेका छन् ।”
बेनी–जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०÷१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको छ ।
पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । टहरा र विश्रामस्थल भएपछि स्नान गर्नका लागि घामपानीले असर गर्दैन । पहिले नदी किनारको खुला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन ।
उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि गाउँपालिकाबाट अनुमति पाउनुभएका खिलराज बरुवालले बताए । “यो तातोपानी कुण्ड गरिबका लागि अस्पताल बनेको छ”, उनले भने, “व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरी मानिसको आगमन बढेको छ ।”
बरुवालले गाउँपालिकालाई रु एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि कुण्ड सञ्चालनको अनुमति लिएका छन् । उनका अनुसार दैनिक एक सय जना जति स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रर्वद्धन भएको छ ।
चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउँछन् । युरिक एसिडबाट थलिएका अन्नपूर्ण–७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाए ।
“पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए”, उनले भने, “२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो, आफैँ हिँडेर घर गए, त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।” पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्ने व्यक्ति आउने गरेको बताइएको छ ।
सर्वसाधारणले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण–६ घोडेपानीका ममता गर्बुजाले करिब रु एक लाख ५० हजार खर्च गरेर सडकदेखि पोखरीसम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाइदिएको वडाध्यक्ष खड्काले बताए ।
चिसो याममा तातोपानीमा शरीर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द हुने बताइन्छ । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा रु तीन सय ५० र एकपटक स्नान गर्न रु ३० शुल्क तोकिएको छ ।
तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । उनका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा रु आठ लाख विनियोजन गरिएको छ ।
गत वर्ष प्रदेश सरकारको रु पाँच लाख अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरी सिँढी निर्माण गरिएको थियो । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताए ।


















रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
Forty-six Nepalis rescued from Cambodia
पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया