शुक्रबार, फागुन ८, २०८२

पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप

मेरोन्यूज २०८० माघ २३ गते १३:०२

कास्की । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ । च्याम्पियनसिपमा गत वर्ष १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

स्प्रिन्टअन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हँुदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रुटमा यथावत हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन सङ्घ र एसियन ट्रायथोलन एशोसिएसनका अध्यक्षलगायत उच्चस्तरीय व्यक्तिहरूको सहभागिता हुने भएकाले भव्य हुने बताए। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।

“एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रवर्द्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ”, अध्यक्ष श्रेष्ठले भने, “पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।”

सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताए । पोखरासहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । विगतमा विभिन्न कठिनाइका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला सङ्घ बनेर अझै सहजरूपमा सम्पन्न हुने कोइरालाले बताए ।

नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत् खेल इभेन्ट भएको बताए । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरी सुधार गरिने उनले स्पष्ट पारे । “विगतका कमजोरी दोहोरिन दिँदैनौँ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ”, देवकोटाले भने।

गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर

नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन हुनुभएको छ । सङ्घका अध्यक्ष सुमन देवकोटा गत पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पारेका छन् ।

कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले पोखरेलीको अपनत्व हुनेगरी च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिए ।

प्रतिक्रिया