बिहीबार, फागुन ७, २०८२

१ सय वर्ष पुगेका हरिलाल पंच सम्मानित

मेरोन्यूज २०८० फागुन ५ गते १९:२८

भक्तपुर । भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन्। शनिबार उनलाई उनकै परिवारका सदस्यहरुले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा बनभोज कार्यक्रममा सम्मान गरिएको हो । संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताए। नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफनो लागि गौरबको विषय भएको उनले बताए। उनले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभब लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताए।

पंच मु दवु पंच थर भएका भक्तपुरेहरुको समूह हो। भक्तपुरमा विभिन्न थरका मानिसहरुमध्ये पंच थर भएका परिवारले सवै परिवारलाई एकतावद्ध गर्न २०७८ सालमा पंच मु दवू गठन गरेका थिए।

उनीहरूका अनुसार भक्तपुरमा पंच थर भएका परिवार भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछें र भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जे किवाचो दुई ठाउँंमा छन्। तर २०७२ सालको महाभूकम्पपछि भने उनीहरू जिल्लाकै सूर्यविनायक पाण्डुबजार, लिवाली, कमलविनायक, सल्लाघारी लगायतका ठाउँंमा बसाई सराई गरी बस्न थालेका छन् । हाल दवुमा दुई सय ७२ सदस्य रहेको जनाइएको छ । कार्यसमिति भने नौ जनाको रहेको जनाइयो। 

सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो। उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाइएको थियो। उनकी धर्मपत्नी केशरी पंच पनि छन्। उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनीहरुका चार छोरा र तीन छोरीहरु थिए। तीन छोरीहरु भने वितिसकेका छन्। उनका चार छोरा र चार बुहारीहरुसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरुसमेत भइसकेका छन्।

प्रतिक्रिया