बिहीबार, फागुन ७, २०८२

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

मेरोन्यूज २०८० फागुन ६ गते ८:४७

लेखनाथ (कास्की)। राष्ट्रियसमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताए ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताए ।

“देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “अब नेपाल रेडक्रस सोसाइटीमा आबद्ध देशभरका कमिटी सदस्यले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पार्नहोस् ।”

अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्ररूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिए ।

रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटनसमेत गरेका ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्मा परेका र रगत अभावमा छटपटाइरहेका परिवारलाई सेवा पुर्याउँदै आएको रेडक्रसको भूमिका महत्त्वपूर्ण रहेको बताए । रगतको अभाव र प्राकृतिक विपद्मा परेका परिवारलाई सहज र सरलरूपमा सेवा पुर्याउन उक्त संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसकर्मीले असल र पवित्र भावनालाई उजागर गर्दै दुःखमा परेको परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । विश्वमा एक सय ९१ मुलुकमा सेवा गर्दै आएको यस संस्थाका हरेक सदस्यले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्न सुझाव दिए । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक गन्ध आउन नहुने भनाइ उनको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बन्दुकुमार थापालगायतले रेडक्रसको भूमिकाको चर्चा गरेका थिए ।

प्रतिक्रिया