बिहीबार, फागुन ७, २०८२

थारु ‘होमस्टे’मा परम्परागत बयलगाडा सफारी

मेरोन्यूज २०८० फागुन १५ गते २०:१८

उदयपुर (गाईघाट) । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताएका छन्।

होमस्टेदेखि केही परसम्म आगन्तुकलाई लिन जान र होमस्टेमा बास बस्नेलाई बेहडवा क्षेत्रको भ्रमण तथा अवलोकन गराउन पहिलो पटक बयलगाडा सफारी सेवा सञ्चालन गरिएको र यसले पर्यटकलाई पनि मनोरञ्जन दिने र लोप हुँदै गएको बयलगाडा सफारी संस्कृतिको पनि जगेर्ना हुने अर्का घरबास सञ्चालक दीर्घलाल चौधरी बताउँछन्।

उनी भन्छन्, ‘घरबास सञ्चालनमा आन्तरिक पर्यटन प्रवर्द्धनका साथै हामी थारु समुदायको संस्कृति वेषभूषा संरक्षण गर्न हाम्रो परम्परागत बयलगाडा सफारी लोप हुँदै गएकाले यसको संरक्षण र छुट्टै थारु विशेषताअनुसार बयलगाडा सफारी सञ्चालन सुरु गरेका हौँ।’

स्थानीय नन्दलाल चौधरीका अनुसार २० देखि ३० वर्ष अगाडिसम्म मालसमान र खेतबारीबाट अन्नपात ढुवानी गर्न बयलगाडा प्रयोग हुनेगरेको थियो। अहिले यातायातका साधानको विकासले बयलगाडा लोप भएका हुन्।            

त्रियुगा नगरपालिकाको बेहडा थारु होमस्टे जिल्लाकै उत्कृष्ट होमस्टे मानिएको छ। यहाँ नेपालको अधिकांश सबै प्रदेशबाट पर्यटक आउने गरेका र भारतको सिक्किम, दार्जिलिङबाटसमेत नेपाली पर्यटक  आउने र बास बस्ने गरेको सञ्चालक उतीम लाल चौधरी बताउँछन्।
       
बयल गाडासफारीका लागि हाल एक दर्जन बयलगाडा प्रयोग सुरु गरिएको होमस्टे सञ्चालकहरु बताउँछन्। उनीहरूका अनुसार पाँच वटा घरबासमा दैनिक ५० देखि सयसम्मको हाराहारीमा पर्यटक बास बस्ने गरेका छन्।

होमस्टे सञ्चालनमा रु चार करोडभन्दा बढी लगानी भएको र हाल दैनिक रु ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ। 

प्रतिक्रिया