बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लागेका हुन् ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका उनी पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुटेका छन् । उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताए ।
विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुख्र्यौली गीतको म्युजिक भिडियो तयार गरेका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसकेका छन् । पुख्र्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैँ मादले बनेर नाच्ने गर्छन् ।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जङ्गल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उनको भनाइ छ ।
“मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायाङ्कन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु”, सर्जकसमेत रहेका कलाकार पुनले भने ।
पुनले तयार गरेको पुख्र्यौली गीत हालै जिल्लाको अन्नपूर्ण –८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायाङ्कन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिएको छ ।
गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको सङ्कलन र गीत लेखन सुरु गरेका थिए । “गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्, मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु”, पुनले भने ।
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उनको भनाइ छ । पुनका चारवटा सालैजो, पुख्र्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ । म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गरेका छन् । उनले मगरहरूको पुख्र्यौली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गरेका। यस पुस्तकमा पुख्र्यौली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया