बिहीबार, वैशाख १०, २०८३

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

मेरोन्यूज २०८० फागुन १६ गते १०:०१

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

Advertisement
NiccNicc

मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो। करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने जानकारी दिइन् ।

प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्‌मा पेस गर्ने तयारी छ। यस्तै, मङ्गलबार सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको छ।

यसअघि, प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

प्रतिक्रिया