बिहीबार, फागुन ७, २०८२

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’, रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

मेरोन्यूज २०८० फागुन १९ गते १३:४०

खोटाङ । खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। 

रु एक लाख राशि र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशि र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए। 

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको हो। 

समाजले साहित्य, कला, सङ्गीत, शिक्षा, खेलकुद, समाजसेवालगायत माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्‍याउँदै आएका ६० वर्षमाथिका व्यक्तिलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। 

समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोस्रो चरणमा साहित्यकार जसराज किराती र सङ्गीतकार शान्तिराम राई, तेस्रो चरणमा शिक्षासेवी एवं समाजसेवी इमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राई र सञ्चार अभियानकर्मी टङ्कबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ। 

खोटाङ सेवा समाज युकेले यस वर्ष पनि खोटाङका सबै स्थानीय तहमा ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर–२०८०’ सञ्चालन गर्ने तयारी गरेको छ। सोही स्वास्थ्य शिविर समापनका अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गर्ने तयारी गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष डा प्रमोद कोयी राईले जानकारी दिए। 

अस्पताल जानका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयासस्वरुप खोटाङ सेवा समाज युकेले विसं २०७३ चैत्र २६ गते जिल्लामा सात एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो। बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाललगायत ठाउँमा बसोबास गर्ने चार सय ४५ खोटाङबासीबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ। 

जिल्लाको समग्र विकास निर्माणमा समेत सहयोग गर्दै आएको समाजले जिल्ला अस्पताललाई एक अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको थियो। रोजगारीको सिलसिलामा युकेमा बसे पनि आफूहरु खोटाङबासी भएकाले खोटाङको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन्। कोभिड–१९ को महामारीका बेला पनि अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो।

प्रतिक्रिया