मानव बेचबिखन रोकथाममा खुला सीमा चुनौती

बेदकोट (कञ्चनपुर) । मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो ।
भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार÷चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिए ।
उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ ।
“खुला सीमा प्रमुख चुनौतीका रुपमा छ, गरिब, बेरोजगार महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर दलाल नाका कटाउने गरेका छन्”, उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि दलालको चङ्गुलमा परिरहेका घटना आइरहेका छन् ।”
माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको उनले जानकारी दिए । एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
माइती नेपालले बेचबिखनमा परेका अथवा त्यसको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरेर मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै पारिवारिक पुनर्मिलन गराउने गरेको छ । “आफ्नो खुट्टामा उभिनसक्ने बनाउन सीपमूलक तालिम पनि दिने गरेका छौँ, झुठो प्रमाण पेस गरेर पनि कतिपयलाई नाका कटाएको पाइएको छ”, उनले भने, “मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न सरोकारवाला सबैले ध्यान दिनुपर्छ ।”
माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ । एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । माइती नेपालमा एक वर्षको अवधिमा खोजतलासका लागि एक सय ७१ निवेदन दर्ता भएका थिए । सोमध्ये ४९ जना भेटिएका छन् ।
घरेलु हिंसाका ३२ निवेदन दर्ता भएकामा तीमध्ये १९ निवेदनउपर कारबाही भएको माइती नेपालका संयोजक भट्टले बताए । माइती नेपालले एक वर्षको अवधिमा मानव बेचबिखनविरुद्ध तीन मुद्दा प्रहरीमा दर्ता गराएको छ । मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया