जातीय विभेद अन्त्यका लागि वनारसी जात्राः पुजारी दलित, श्रद्धालु गैरदलित

बैतडी । पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् ।
धार्मिक सहिष्णुताको नमूना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुन्छन् भन्ने विश्वास छ । जात्रा हेर्न आउने गैरदलितले पनि टीका, प्रसाद ग्रहण गर्ने मन्दिरका मूल पुजारी झेरे लुहारले बताए ।
यस मन्दिरमा सबै समुदायका दर्शनार्थी जाने र दलित समुदायका पुजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको वनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिए । उनले भने, “वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छौँ, यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुँदैन ।”
वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताउनुभयो । दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य जाति अनिवार्य सहभागी हुने परम्परा रहेको उनले सुनाए । उनले भने, “गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामो समयदेखि दलितमाथि विभेद हुने गरेको थियो तर यो जात्रा विभेद अन्त्यको सन्देशका रूपमा लिन सकिन्छ ।”
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । जात्रामा सहभागी हुन हजारौँ दर्शनार्थी पुग्छन् । जात्रामा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने चलन छ । माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा पनि मन्दिरमा पूजा गर्ने र बलि दिनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किंवदन्तीअनुसार वनारसीलाई शक्तिशाली देवताको रूपमा लिने गरिएको छ ।
पछिल्लो समय वनारसीधामलाई विश्वनाथधामका रूपमा विकास गर्ने काम पनि सुरु भएको छ । वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका रूपमा रहेको धार्मिक प्रवक्ता पन्तको भनाइ छ । मानसखण्ड पुराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको उल्लेख भएको र पौराणिक सरयु अर्थात् सुर्नया नदीको किनारमा रहेको वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उनले सुनाए ।
त्यसैगरी तत्कालीन राजा महेन्द्रको पालामा मन्दिरका लागि पूजा खर्च दिने गरेको र उनी यहाँ आएका बेलामा तीन दिनसम्म सोही ठाउँमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेको पनि पन्तले बताए ।
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया