देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन् ।
सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उनले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्नेमा जोड दिए ।
सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाँउमा केन्द्रित हुन जरुरी रहेको बताए। सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनको भनाइ थियो ।
माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गर्दै उनले भने, “माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।”
प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरे । “नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ”, प्रधानमन्त्रीले भने।
उनले आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गरे । उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे ।
शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रसंशा गर्न कन्जुस्याई गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुस्टि जनाए । “ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाँउमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ”, प्रधानमन्त्रीले भने।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताए । देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरु नयाँ जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ ।
सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताए ।
फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ । झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया