सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा अध्यक्ष नेपाललाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गरेका हुन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो ।
भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राखेका थिए । एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गरेका थिए ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले छलफल सकारात्मक भएको बताए । सो पार्टीका महासचिव पोखरेलले आफूहरुले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेको र समाजवादी पार्टी सकारात्मक रहेको बताए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए । महासचिव भुसालले भने, “उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।”
शारीरिक अस्वस्थताका कारण केही दिनयता आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका पूर्वप्रधानमन्त्री नेपाललाई शीर्ष नेताहरुले स्वास्थ्यलाभको कामना पनि गरेका थिए ।


















सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया