शनिबार, वैशाख ५, २०८३

ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन

मेरोन्यूज २०८० फागुन २३ गते २१:५०

काठमाडौँ । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनेका शक्तिबहादुर बस्नेत पुनः ऊर्जा मन्त्रालयमा नआउने अनुमान गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोही आधारमा ऊर्जा मन्त्रालयले पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको बिदाई समारोह राखेको थियो । बिदाइ समारोहमा मन्त्रालय र मातहतका निकायका अलावा, जल तथा ऊर्जा आयोगका सचिवलगायत कर्मचारी उपस्थित थिए । जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले ऊर्जामन्त्री बस्नेतको कार्यकालमा ऊर्जा क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताए । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले पनि बस्नेतको राजनीतिक जीवनको सफलताको कामना गरे ।

ऊर्जा क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा उल्लेखनीय प्रगति भएको बताउँदै भावपूर्ण बिदाइ गरेका थिए । मन्त्रीका रुपमा एक वर्षको अवधि आफ्ना लागि पनि महत्वपूर्ण रहेको र एउटा महत्वपूर्ण सिकाइ भएको उनले बताए ।उनले एक वर्षको बीचमा रणनीतिक महत्वका काम भएको स्पष्ट पार्दै आगामी दिनमा आउने मन्त्रीले पनि आफ्नै पदचापमा काम गर्ने विश्वास व्यक्त गरे। उनले अप्रत्यक्ष रुपमा पुनः आफू नै यस मन्त्रालय सम्हाल्न आउने विश्वास व्यक्त गरेका थिए । नभन्दै त्यस्तै भयो ।

आज अपराह्न १ः१५ बजे मन्त्री बस्नेतलाई खादा, माला पहिराएर बिदाइ गरेका मन्त्रालयका कर्मचारीले पुनः राति ८ः३० बजे मन्त्री बस्नेतको स्वागत गरे र सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पदबहाली गर्दै मन्त्रालयका सबै कर्मचारीसँग मिलेर मुलुक र जनताको हितका लागि काम गर्ने बताए ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेतलाई ऊर्जामन्त्रालयका सचिवद्वय सिग्देल र जलस्रोत तथा सिँचाइ सचिव तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीलगायतले मन्त्रालयमा स्वागत गरेका थिए ।

साँझ स्वागत समारोहमा सचिव सिग्देलले आफ्नो जीवनमा पहिलोपटक एकै दिन बिदाइ र स्वागत गर्न पाउने वीरलै अवसर पाएको बताए । उनले भने, “यो मेरा लागि जीवनकै महत्वपूर्ण अवसर हो । यसले हामीलाई थप जिम्मेवार बनेर काम गर्नका लागि पनि सहयोग गर्नेछ ।”

उपमहासचिव बस्नेत लगातार तीन पटक जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । ऊर्जामन्त्री बस्नेतले जाजरकोटको ग्रामीण वर्ग सङ्घर्षबाट राजनीति सुरु गरेका थिए । विसं २०२८ वैशाख १ गते बुबा डण्डवीर बस्नेत र आमा धर्मकुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मनुभएका बस्नेतको परिवार नै माओवादी जनयुद्धमा संलग्न भएको थियो ।

बस्नेतको राजनीतिक जीवन भने ०४६÷४७ बाट मात्र सुरु भएको हो । तत्कालीन नेकपा माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य ०५७ मा पूर्ण केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन् । जनपरिचालनमा उनी निपूर्ण मानिएका बस्नेत तीन पटक जाजरकोटबाट प्रत्यष निर्वाचित भए ।

विसं २०५९ पार्टी पोलिटव्यूरो सदस्य हुन भएका बस्नेतले जनयुद्धकालमा भेरी कर्णाली, थारुवान्जस्ता क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरेका थिए । जनआन्दोलनको समयमा तत्कालीन जनमुक्ति सेना नेपालको डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागीभएका थिए ।

माओवादीभित्र सुरेश सिंहको नामले समेत परिचित बस्नेत बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । विसं २०७१ पार्टी स्थायी समितिमा निर्वाचित बस्नेत पार्टीभित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहँदै आएका थिए ।

जाजरकोट खलङ्गा–९ कालेगाउँ गरिब किसान घरपरिवारमा जन्म लिएका शक्ति बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए । उनले भेरी ज्ञानोदय क्याम्पसवाट स्नातक गरेका छन् । यस्तै उनी हाल राजनीतिक शास्त्र विभागको एफफिल÷पिएचडीको शोधार्थी हुन् । मन्त्रीको व्यस्त समयलाई छुट्याएर भए पनि उनले अध्ययनलाई समेत जारी राखेका थिए ।

ग्रामीण वर्ग सङ्घर्षलाई उठान गरी सशस्त्र वर्ग सङ्घर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने मार्ग दर्शनवाट अभिप्रेरित नेता बस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालीन नेकपा एकता केन्द्र (मसाल) मा आबद्ध भएका थिए ।

नेता बस्नेत २०४८ सालमा तत्कालीन एकता केन्द्र (मसाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्यको जिम्मेवारीमा थिए । यसअघि गृहमन्त्री, वन तथा वातावारणमन्त्रीको रुपमा उनले देश सेवा गरेका हुन् । ऊर्जामन्त्रीका रुपमा उनले पछिल्लो एक वर्षमा सक्रियतापूर्वक काम गरे । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता, रणनीतिक महत्वका ठूला आयोजनाको सुरुवात, एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुणजस्ता आयोजनाको काम अघि बढाउन अद्यापि उनी क्रियाशील छन् ।

कार्यसम्पादनका हिसाबले उत्कृष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बस्नेतले पुनः ऊर्जा मन्त्रालयको जिम्मेवारी पाए । गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व सम्हाल्नु भएका उनी पाँचौँ पटक ऊर्जा मन्त्रालयको नेतृत्वमा छन् ।

दुई महत्वपूर्ण प्रस्तावमा हस्ताक्षर

पदवहालीलगत्तै मन्त्री बस्नेतले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् । सो कार्यदलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल संयोजक, सहसचिव नवीनराज सिंह, सहसचिव कलानिधि पौड्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य रहेका छन् ।

यस्तै, जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा पनि मन्त्री बस्नेतले हस्ताक्षर गरेका छन् । त्यसले प्रसारण शुल्क निर्धारण तथा प्रसारण लाइनको सञ्चालनलगायतका विषय समेटिएको छ । विद्युत् नियमन आयोग ऐनमा भएको व्यवस्थाअनुसार विस्तृत जनरल नेटवर्क एक्सेसको निर्देशिका तयार हुनेछ ।

प्रतिक्रिया