मंगलबार, फागुन ५, २०८२

खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै

मेरोन्यूज २०८० चैत ११ गते ११:३१

खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ । गत पुसदेखि भवन निर्माणको काम रोकेर सम्पर्कविहीन भएको निर्माण कम्पनी श्यामसुन्दररामसागर नेपाल फूलबारी जेभीले तीन महिनापछि पुनः काम शुरु गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिना जानकारी सम्पर्कविहीन भएको ठेकेदार तीन महिनापछि निर्माणस्थल फर्किएसँगै निर्माणाधीन अस्पताल भवनको प्लाष्टर लगायतका भित्री काम शुरु भएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । “ठेकेदारले पर्खाल, गेटसम्मको सडकलगायतका काम केही दिनभित्र थाल्ने बताएका छन् । रोकिएको काम पुनः शुरु गरेकाले केही आशा पलाएको छ”, उनले भने, “सम्झौताअनुसार गत पुस–२४ गते नै भवन निर्माण सम्पन्न हुनुपथ्र्यो । तोकिएको समयमा सम्पन्न नभएपछि थप १५ महिना म्याद थप भएको छ । सम्भवतः बाँकी समयमा सम्पन्न हुनेछ ।”

लामो समयसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार भवन निर्माण शुरु गरिएको हो । निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ । ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी वि।सं। २०७८ असार–२४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार, सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ मा अस्पताल भवनको ठेक्का उक्त कम्पनीले हो ।

वि।सं। २०४९ साल वैशाख १ गते स्थापना भएको अस्पताल अहिले ट्रस बनाएर सञ्चालन भएको छ । अस्पतालको पुरानो भवन भत्काएर ट्रसबाट स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । बिरामीको चाप बढेको समयमा भुइँमा राखेर उपचार गर्नुपर्ने वाध्यता रहेको अस्पतालका प्रमुख डा। रुपेश सङ्ग्रौलाले बताए । अस्पतालमा पर्याप्त उपकरण नहुँदा गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको उनले बताए ।

प्रतिक्रिया