मंगलबार, पुष १५, २०८२

डोल्पामा आगो निभाउने क्रममा घाइते भएका सेनाकाे हेलिकप्टरद्वारा उद्धार

मेरोन्यूज २०८० चैत २६ गते १९:५४

डोल्पा । हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् ।

ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए।

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए । पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर आउन लागेका उनले बताए।

आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।

प्रतिक्रिया