आइतबार, चैत २२, २०८२

माइतीघर-बानेश्वरको निषेध हटाइयो, आन्दोलनमा भएका क्षतिको बिल आयोजकलाई पठाइने

मेरोन्यूज २०८० चैत ३० गते २०:४०

काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार अब आन्दोलनकारी शक्तिले प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने छ । यसैगरि सुरक्षाकर्मीहरु घाइते भएको अवस्थामा उनीहरुको उपचार पनि गराउनुपर्ने निर्णय गरिएको हो ।

गृहमन्त्रालयले यस विषयमा आज औपचारिक विज्ञप्ति पनि जारी गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अवसरमा ‘तीन कामको सुरुवात’ गरेको बताएर पहिलो नम्बरमा निषेधाज्ञा हटाइएको विषय उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ। नयाँ वर्ष २०८१ को शुभकामना।’

प्रतिक्रिया