शनिबार, चैत १४, २०८२

पछिल्ला आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएका छन् : प्रधानमन्त्री

मेरोन्यूज २०८१ वैशाख ३ गते १६:१२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले आर्थिक सुधारको लय समातेको बताए ।

“आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तारले सकारात्मक सन्देश प्रवाह गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारत लगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौंको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेशमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् ।”

प्रधानमन्त्री प्रचण्डले ‘केही हुँदैन’ भन्ने निरासाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न अपील गरे ।

यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे । 

लगानीको वातावरण बनाउनका लागि सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताए ।

नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे । 

प्रतिक्रिया