बिहीबार, चैत १९, २०८२

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार: विष्णु पौडेल

मेरोन्यूज २०८१ वैशाख १३ गते ९:०५

काठमाडौँ । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए । 

उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे । 

‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगत देखि कै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’
 

प्रतिक्रिया