बुधबार, चैत १८, २०८२

अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्, सुहाङको जिम्मा म लिन्छु : ओली

मेरोन्यूज २०८१ वैशाख १८ गते २०:५८

इलाम । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्वाङले निर्वाचित भएसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उमेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले भने, “तपाईंहरूले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु । अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”

अध्यक्ष ओलीले देशलाई आर्थिकरूपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी पनि गरे ।

“मुलुकलाई आर्थिकरूपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ,” ओलीले भने । 

अध्यक्ष ओलीले सुवास नेम्वाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको बताए । उनले सुवास जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे ।

“सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ,” उनले भने ।

ओलीले आफ्ना उमेदवार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र)लाई समेत धन्यवाद दिए । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताका लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

“म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु,” उनले भने, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”

प्रतिक्रिया