शनिबार, चैत १४, २०८२

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन : प्रधानमन्त्री

मेरोन्यूज २०८१ जेठ ५ गते १५:१३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।

“प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भोलिसम्म सदनको अवरोध हट्ने छ ।”

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।

“सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने  र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेट बोक्नै पर्छ ।”

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनुपर्ने बताए । 

“समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरेका हुन् ।  

प्रतिक्रिया