सोमबार, माघ ५, २०८२

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम

मेरोन्यूज २०८१ जेठ १३ गते ९:१९

दमौली (तनहुँ) । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले राससलाई बताए। कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो ।

तालिम शनिबारदेखि प्रारम्भ भएको हो । “संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ”, अध्यक्ष श्रेष्ठले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा, संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भने ।

प्रतिक्रिया