सोमबार, चैत ९, २०८२

सेवाग्राहीको समस्या सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवको निर्देशन

मेरोन्यूज २०८१ जेठ १३ गते २२:०८

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज कान्ति बाल अस्पतालमा छड्के अनुगमन गर्दै सेवाग्राहीको गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उपचारका लागि आएका सेवाग्राहीले मन्त्री यादवसँगको कुराकानीका क्रममा अस्पतालको फोहर व्यवस्थापनमा समस्या रहेको, शौचालय दुर्गन्धित रहेको, आकस्मिक कक्षको एउटै शैय्यामा तीन जनासम्मको उपचार भइरहेको, औषधि लिन फार्मेसीमा लामो समय कुर्नुपरेको, रगत सङ्कलनमा ढिलाइ हुने गरेको, ह्वीलचियरको व्यवस्था नरहेको र कर्मचारीहरूले राम्रो व्यवहार नगर्ने गरेको गुनासो पोखेका थिए ।

मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुग्नुभएका मन्त्री यादवले आकस्मिक कक्ष, अस्पताल फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष, आइसीयु, एनआइसीयु, क्यान्टिनसहित अस्पतालका विभिन्न शाखाको अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालस्थित एमआरआई मेसिन आंशिक रूपमा सञ्चालनमा रहेको र तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

अस्पतालका निर्देशक डा पङ्कज रायले जनशक्ति र बजेट अभावका कारण अपेक्षित ढङ्गले काम नगर्न नसकिएको मन्त्रीसमक्ष गुनासो राख्ने क्रममा मन्त्री यादवले आगामी अस्पतालमा देखिएका कमजोरीलाई सुधार गर्न र आवश्यक जनशक्ति र पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “अस्पतालमा थुप्रै समस्या भेटिएका छन् यद्यपि सुधार गर्न सकिने ठाउँहरु छन् । सानोतिनो विषयमा पनि सेवाग्राही असन्तुष्ट हुनुहुन्छ । अस्पतालमा देखिएका कमजोरीलाई तत्काल सुधार गर्न अस्पताल प्रमुख र सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

प्रतिक्रिया