शुक्रबार, चैत १३, २०८२

केरामा देखिएको रोग नियन्त्रण गर्न माग

मेरोन्यूज २०८१ जेठ १५ गते १४:३३

टीकापुर । कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् । किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवर्द्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग गरिएको छलफलमा किसानले यस्तो गुनासो गरेका हुन् ।


किसानले नेपालमा गत वर्ष पहिलोपटक केरामा पानामा ९ओइलाउने० रोगको टिआर–४ प्रजाति भेटिएको हो । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टिआर–४ प्रजाति हो ।
विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती गरिरहेका केरा किसान डुब्ने उनीहरूको चिन्ता छ ।

यो रोग माटोमा बस्ने ढुसी भएका कारण सङ्क्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको कृषिविज्ञको सुझाव छ । टिआर–४ प्रजाति कैलालीको टीकापुरका किसानको बारीमा देखिए पनि नियन्त्रणमा ध्यान नदिएको किसान टेकेन्द्र धामीले बताए।

गत वर्ष राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करिब आठ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करिब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय टीकापुरका उपप्राध्यापक आशिष घिमिरे गर्मी भएकाले यो रोग धेरै नदेखिए पनि वर्षा भएमा फैलन सक्ने बताउँछन् ।

घिमिरेका अनुसार पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो ।

त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नाका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि स्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रो पटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ ।

उपप्राध्यापक घिमिरेले केरामा यो प्रजातिको रोग लागेमा खेती नै विनाश हुने जोखिम रहेको बताए ।

सो सम्बन्धी छलफल कार्यक्रममा तीन पालिका टीकापुर, जानकी र लम्कीचुहाका कृषि शाखाका कर्मचारी, मूल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक व्यापारी, मध्यस्थकर्ता व्यापारी, खुद्रा व्यापारी सहभागी थिए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ ।

यो याममा नेपालमा केरा अभाव हुने र भारतीय केराले बजार ढाक्दा यहाँ उत्पादन भएको केराले समेत मूल्य नपाएको किसानको गुनासो छ । यसका साथै केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे व्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया