किताब लेखक र पाठकको रसायनशास्त्र हो : शाक्य

काठमाडौँ। पर्यटन व्यवसायी कर्ण शाक्यले साहित्यिक विधाका कृति मात्र किताब नभएर यो लेखक र पाठकलाई जोड्ने रसायनशास्त्र भएको बताएका छन् । नेपाली राजनीतिज्ञ, कवि तथा नाटककार गोपालप्रसाद रिमालको सम्झना गर्दै न्युयोर्क राइटर्स वर्कसप इन काठमाडौँ र हिमालयन लिटरेचर फेस्टिभलका अवसरमा सोमबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा शाक्यले आफ्ना कृतिहरू ‘सोच’, ‘खोज’, ‘मोज’, र ‘कोष’ यथार्थ भोगाइ र अनुभव भएको स्पष्ट गरे।
वन विभागको जागिरेदेखि देशविदेशको भ्रमण र होटेल, अर्बुदरोग अस्पतालसम्मको निर्माण गरी दुःखसुखको अनुभव सँगालेका आफूलाई पुस्तक लेख्न अरूको कथा हाल्न नपरेको स्पष्ट गर्दै पत्नी र छोरीको अर्बुदरोगबाट निधन भएपछिको पीडाले पनि पुस्तक लेख्न प्रेरणा पाएको जानकारी दिए।
वर्कसपमा सहभागी देशविदेशका लेखक तथा नेपाली पत्रकार एवं लेखकसँग अन्तरक्रिया गर्दै लेखक शाक्यले भने, “मेरा कृति आख्यान र कल्पना होइन, यथार्थ हो, पाठकले ग्रहण गरे । कृति पढेर कतिले मलाई तपाईँले रुवाइदिनुभयो भने ।” उनको ‘सोच’ गैरआख्यानात्मक कृतिले उत्तमशान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । उनका अङ्ग्रेजी भाषामा पनि ‘टेल्स अफ काठमाडौँ’, ‘डोल्पो’ र ‘लुक डाउन अप’ शीर्षक कृति प्रकाशित छन् ।
“देशका विभिन्न ठाउँ घुम्दा मलाई मेरो देश स्वर्ग पो रहेछ भन्ने स्पष्ट भयो । म त स्वर्गमा पो जन्मेको रहेछु ।” उनले आफूले आफ्नो व्यवसाय गर्दै त्यसैमा धेरै अनुराग राखेको र त्यसलाई कला पनि दिएको जनाउँदै पछि समय व्यवस्थापन गर्न पनि जानेको बताए । आफूले अरूको नक्कलभन्दा नयाँ अलग्गै काम गर्न रुचि लाग्ने पनि स्पष्ट गरे । अहिले ८३ वर्षका उमेरमा पनि उनी गाउँ गाउँमा भ्रमण गरिरहेका छन् ।
अहिले सकारात्मक सोचका धनी शाक्यका नाममा ‘कर्ण सकारात्मक कोष’ र ‘नागरिक अभियान आफैँबाट’ भन्ने संस्था स्थापित छ जसले ६० देशमा करिब पाँच लाख जनालाई समेटी करिब पाँच सय समूह खडा गरिसकेको छ । “अरूलाई गाली गर्न र नराम्रो भन्न छाडी राम्रालाई राम्रा भन्न सके समाजमा धेरै परिवर्तन हुन्छ ”, उनले भने ।
अभियानले सचेत नागरिकको कर्तव्य, विदेश भ्रमण, पारिवारिक परिवेश र छिमेकीका रूपमा नागरिकको भूमिका, सरसफाइसम्बन्धी नागरिक कर्तव्य, धार्मिक–सांस्कृतिक– पर्यटकीय– प्रशासनिक–राजनीतिक–सामाजिक–यातायात–ट्राफिक–संरक्षण–विकास क्षेत्रमा नागरिकको भूमिकाका लागि सबैमा आग्रह गरेको छ ।
लेखक कार्यशाला तथा साहित्य महोत्सवअन्तर्गत आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, नेपालका लागि बेलायतका राजदूत रोब फेन र गोपालप्रसाद रिमालका माहिला सुपुत्र मदन रिमालका उपस्थितिमा उद्घाटन कार्यक्रम भई नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा कविगोष्ठी तथा नेपाली मिडियामा नेपाली साहित्यको स्थान, अनुवाद, डायस्पोरा राइटिङ आदि विषयमा छलफल भएको कार्यक्रम संयोजक युयुत्सुआरडी शर्माले जानकारी दिए।
















इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
प्रतिनिधिसभा निर्वाचनः आयोगले ९ प्रकारका सामग्री पठाउने
PM Karki wishes success to Nepal cricket team in T-20 World Cup
ललितपुर खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया