आइतबार, पुष १३, २०८२

यौन क्रियाकलापमा लगाइएका तीन जनाको उद्धार,एक जना फरार

मेरोन्यूज २०८१ जेठ १७ गते २१:१७

चितवन। भरतपुर महानगरपालिका ७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीन जनाको उद्धार गरिएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ । उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन् ।

रोजगारी लगाइदिने भन्दै उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको उनले जानकारी दिए । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

ढकाललाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताए ।

प्रतिक्रिया