बुधबार, चैत ४, २०८२

निर्धारित समयमा गर्न ६ दलनिकट पत्रकार संस्थाको ध्यानाकर्षण

मेरोन्यूज २०८१ जेठ १९ गते २०:१२

काठमाडौँ । आगामी जेठ २६ गते गर्ने भनिएको नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न विभिन्न ६ राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरूले ध्यानाकर्षण गराएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव समूह, वैद्य समूह र राष्ट्रिय जनमोर्चा निकट दलका पत्रकार सङ्गठनका अध्यक्षले संयुक्त हस्ताक्षर गर्दै महासङ्घको नेतृत्वले निर्धारित समयमा चुनाव नगराउन खोजेको आरोप लगाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आगामी जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशिएटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरी केन्द्रीय निर्वाचन समिति समेत गठन गरेको र निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोमा ती सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन नसकेको भन्दै नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई तोकिएको मितिमा निर्बाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेको बताउँदै खेद व्यक्त गरेका छन् ।

एमालेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, माओवादी केन्द्रको प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, नेकपा एसको समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, राष्ट्रिय जनमोर्चाको प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, वैद्य समूहको जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा र विप्लव समूहको क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक कमल बुढाले संयुक्त हस्ताक्षर गर्दै पत्रकार महासङ्घको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले जेठ २६ गतेको चुनावका लागि आवश्यक वातावरण बनाउन, महासङ्घका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न, छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गर्न र कुनै पनि बहानामा महासङ्घको चुनाव अवरुद्ध नगर्न माग गरेका छन् ।

प्रतिक्रिया