बुधबार, चैत ११, २०८२

१० महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

मेरोन्यूज २०८१ जेठ २८ गते १८:२१

चालू आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया