नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानी कर्ताहरूलाई उनको आग्रह थियो ।
स्विट्जरल्यान्डको जेनेभामा जारी ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको उनले बताए ।
स्विट्जरल्यान्डको जेनेभामा जारी सम्मेलनमा नेपालका रोजगारदाताहरूको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको बताए ।
साथै श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उनले जोड दिए ।
उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको उनले जानकारी गराए ।
अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे ।
त्यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरूमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाइ थियो ।
अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू नेपालमा लाभका क्षेत्र रहेको विश्वका लगानीकर्ताहरूलाई बताए ।
प्रतिक्रिया