शुक्रबार, पुष ११, २०८२

निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०८१ असार २ गते १९:४२

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले थापालाई जेठ २१ गते पक्राउ गरी २३ गते हाजिर जमानीमा छाडेको थियो। थापासँगै ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि अभियुक्त कायम भएका छन्।

तीनै जनाविरुद्ध प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। उक्त चलचित्र निर्माण गर्दा थापा निर्देशक थिए।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर सम्झौताविपरीत निर्मातालाई कुनै जानकारी नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख रूपैयाँ बराबरको हानी पुर्‍याएको उनले आरोप लगाएका थिए।

निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।

विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रमा १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ ।

प्रतिक्रिया