बिहीबार, चैत १२, २०८२

तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र

मेरोन्यूज २०८१ असार ३ गते १४:०५

तनहुँ । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो ।

चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सङ्घबाट प्राप्त रु तीन अर्ब ८१ करोड २४ लाख १४ हजार आठ सय २९ मा ११ महिना अवधिमा ४६ दशमलव ५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार चालुतर्फ ८२ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ ।

चालुतर्फ रु नौ अर्ब १६ करोड १४ लाख ६७ हजार छ सय १३ विनियोजन भएकामा रु सात अर्ब ५४ करोड तीन हजार चार खर्च भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ५५ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको छ ।

पुँजीगततर्फ रु दुई अर्ब ६० करोड ३७ लाख छ हजार विनियोजन भएकामा रु एक अर्ब ४४ करोड ४५ लाख ४१ हजार तीन सय १४ खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेशमा चालुतर्फ रु ८६ करोड ५८ लाख २९ हजार नौ सय ८० विनियोजन भएकामा रु ४७ करोड ५८ लाख ५४ हजार छ सय ३२ अर्थात् ५४ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ ।

योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउनेलगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराईले बताएका छन् ।

कार्यालयका अनुसार ११ महिनामा सङ्घ र प्रदेशको गरी ५० दशमलव १८ प्रतिशत विकास (पुँजीगत) बजेट खर्च भएको छ ।

पुँजीगत बजेट रु छ अर्ब ४१ करोड ६१ लाख २० हजार आठ सय २९ मा रु तीन अर्ब २१ करोड ९८ लाख ७३ हजार आठ सय ६० खर्च भएको छ ।

त्यस्तै चालुतर्फ भने ७९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु दश अर्ब दुई करोड ७२ लाख ९७ हजार पाँच सय ९३ विनियोजन भएकामा रु आठ अर्ब एक करोड ५८ लाख ५८ हजार एक सय चार अर्थात् ७९ दशमलव ९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया