पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित

कास्की । धान रोप्ने बेलामा नहर पहिरोले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन् । सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मङ्गलबार रातिको वर्षासँगै पहिरोले बगाएको थियो ।
पहिरोले बगाएपछि नहर पूर्ण रुपमा बन्द भएको छ । नहरमा पानी नआएपछि धान रोपाइँको तयारी गरेका कृषक निरास बनेका हुन् । पोखरा–१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका सयौँ कृषकहरु धान रोपाइँबाट वञ्चित भएको बताउनुभयो । पुरुनचौरमा यसवर्ष आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ ।
सो सिँचाइ आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो । “धानको बीउ छिप्पिन लागिसकेको छ तर नहर नचल्दा पुरुनचौरको धान रोपाइँ हुने क्षेत्रका आधा जमिन पूरै सुक्खा हुने अवस्था छ ।” पौडेलले भने, “पुरानो कुलो सञ्चालनमा छैन । आकाशबाट पानी नपर्दा धान रोपार्इँ हुन सकेको छैन ।”
पहिरोले ३० मिटर नहर बगाएको छ । यस विषयमा स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पहिरोले क्षति पुगेको नहरको स्थलगत अवलोकन गरेका छन् ।
स्थानीय कृषकहरुलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्रीले नहर पुनःनिर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकारले कृषकले भोग्नुपरेको समस्या तुरुन्त समाधान गरिनेछ । हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ । खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ ।”
सार्दीखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।














आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया