भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु १ अर्ब ३ करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् ।
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उनले भने,“आयोजनालाई काम लगाउनसमेत कठिन भएको छ । ”
आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यस लगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको थियो । यसमध्येको अघिल्लो वर्षको कामको भुक्तानी रु ६० करोड यस वर्षको सुरुआतीमा गरिएको भए पनि त्यसयता भुक्तानी हुन नसकेको उनले जानकारी दिए ।
दुई जिल्लामा गरी ११ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ खण्डमा ठेक्का लगाइएको थियो । चितवनतर्फ नारायणीको पुलबाट उत्तरतर्फको ‘सिवीच मोडल’ रु १७ करोड खर्च गरेर काम सम्पन्न गरिसकिएको छ ।
आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार गाँजीपुरदेखि हीरापुरसम्मको पाँच किलोमिटर तटबन्ध काम सम्पन्न भएको छ । रु ४८ करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । रु ३६ करोड भुक्तानी गर्न अझै बाँकी रहेको उनले जानकारी दिए ।
चितवनतर्फ सिसइदेखि बालुवासम्मको ५ दशमलव ८ किलोमिटर तटबन्ध रु ३७ करोड ४८ लाखमा ठेक्का लगाइएको थियो । यसको भौतिक प्रगति २० प्रतिशत भएको छ । काम गरेको रु एक करोड ११ लाख बजेट अभावमा भुक्तानी हुन सकेको छैन ।
रामघाटदेखि शिवघाटसम्मको पाँच किलोमिटर तटबन्धको काम ५१ प्रतिशत भइसकेको छ । रु एक अर्ब १५ करोडमा ठेक्का लगाईएकोमा बिल प्राप्त भएर पनि रु २६ करोड भुक्तानी गर्न नसकिएको न्यौपानेले जानकारी दिए ।
बालुवादेखि गोलाघाटसम्मको ४ दशमलव ३ किलोमिटर तटबन्धको काम रु २६ करोडमा ठेक्का लगाइएको थियो । जसमध्ये भौतिक प्रगति ८६ प्रतिशत भइसकेको छ । बिल प्राप्त भएर पनि रु १० करोडबढी भुक्तानी गर्न बाँकी रहेको छ ।
नवलपरासीतर्फ तटबन्धको काम भएर पनि भुक्तानी रोकिँदा समस्या भएको उहाँले जानकारी दिनुभयो । कुसुमघाटदेखि थुम्सीसम्मको ४ दशमलव ९ किलोमिटर तटबन्धको २३ प्रतिशत काम सम्पन्न भएको छ । रु एक अर्ब नौ करोडमा ठेक्का लगाइएको यस खण्डमा रु आठ करोड ७१ लाख भुक्तानी हुन बाँकी रहेको छ ।
देवचुली नगरपालिका–१७, कावासोती नगरपालिका वडा नं १५ र मध्यविन्दु नगरपालिका वडा नं २ र ३ मा १ दशमलव ८ किलोमिटर तटबन्धको काम ५५ प्रतिशत सम्पन्न भएको छ । जसको ठेक्का रकम रु १२ करोड रहेको छ । यो ठेक्कामा काम भएर बिल पेस भएको रु छ करोड ७६ लाख भुक्तानी हुन बाँकी छ ।
कावासोती वडा नं ११ र मध्यविन्दु वडा नं १५ मा २।७ किलोमिटर तटबन्धको ठेक्का लगाइएकोमा ९७ प्रतिशत प्रगति भएको छ । रु १२ करोड १७ लाखमा लगाईएको यो ठेक्काको रु एक करोड ८३ लाख भुक्तानी हुन बाँकी छ ।
सुस्ता गाउँपालिका वडा नं ५ मा चार सय मिटर तटबन्धनको प्रगति ७० प्रतिशत भएको छ । न्यौपानेका अनुसार रु दुई करोड ८० लाख भुक्तानी बाँकी छ । ठेक्का रु पाँच करोड ८६ लाखमा लगाईएको हो ।
गैँडाकोटको सिस्ने र पितौजीमा आठ सय मिटर तटबन्धको ७० प्रतिशत काम सम्पन्न हुँदै गर्दा रु तीन करोड ८० लाख भुक्तानी बाँकी छ । यो ठेक्का रु छ करोड ८० लाखको हो । मध्यविन्दुको नन्दपुरमा तटबन्धको काम सम्पन्न भएको छ ।
निर्देशक साहले पटकपटक अर्थ मन्त्रालयमा बजेटका लागि आग्रह गरिएको बताए । निर्माण कम्पनीले पेस गरेका बिलअनुसारको भुक्तानी नपाउँदा समस्या भएको भन्दै दबाब दिइरहेको उनि बताउछन्। कम्पनीले सार्वजनिक खरिद नियमावलीअनुसार ३० दिनभित्र भुक्तानी नपाएमा ब्याजसमेत पाउने व्यवस्था रहेको छ । उनले सोहीअनुसार कतिपय कम्पनीले ब्याजसमेत दाबी गरेर पत्राचार गरेको बताए।
सम्झौतामा पाँचदेखि १० प्रतिशतसम्म ब्याज दिने उल्लेख छ । यी सबै ठेक्का विसं २०८२ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समय रहेको छ । निर्देशक साहले भने, “समयमा भुक्तानी गर्न नसक्दा सोचेजस्तो काम लगाउन सकिएको छैन ।” नारायणी नदीको चितवनतर्फ २० किलोमिटर र नवलपरासीतर्फ १० दशमलव ५ किलोमिटर तटबन्ध गर्न लागिएको हो । दुवैतर्फ काम सम्पन्न गर्न रु २३ अर्ब खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ ।
















Samar polling station in Mustang has just 36 voters
वीरगञ्ज सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
लोकतान्त्रिक सुधारमा बङ्गलादेशको मतदान
अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल
EU warns Spain’s migrant regularization must not affect block
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया