बिहीबार, चैत २६, २०८२

‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि भागेका ३ चालक पक्राउ

मेरोन्यूज २०८१ असार २४ गते १७:४०

काठमाडौँ । ‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि घटनास्थलबाट भागेका तीन मोटरसाइकल चालक पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

असार १५ गते काठमाडौँ महानगरपालिका–१ जमल, कान्तिपथस्थित होटल यल्लो प्यागोडाअगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरुङसहित तीन जना साथी गोंगबुबाट ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेका थिए। तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी उनीहरूलाई गन्तव्यमा पुर्‍याउँदै गर्दा जमलमा पुगेपछि तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन्।

मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सीबीएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको अनुसन्धानका क्रममा खुलेको उनले बताए। मोटरसाइकलको ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा असार १८ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएपछि मोटरसाइकल चालकहरू घटनास्थलबाट भागेका थिए। प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा तीनै जनालाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको उनले बताए।

प्रतिक्रिया