फ्रान्समा नयाँ सरकार गठन गर्न वार्ता शुरू

काठमाडौं । चुनावी नतिजाले वाम, केन्द्र र अति दक्षिणपन्थी दलहरूबीच व्यवस्थापिका विभाजित भएपछि सरकारको बहुमतलाई एकजुट गर्ने वार्ताका लागि नवनिर्वाचित सांसदहरू फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा भेला भएका छन् ।
पेरिस ओलम्पिक सुरु हुन तीन साताभन्दा कम समयअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्ना प्रधानमन्त्री गेब्रियल एटललाई दैनिक कार्यहरू सम्हाल्न जारी राख्न आग्रह गरेका छन् । म्याक्रोन नाटो शिखर सम्मेलनका लागि बुधबार वासिङ्टन जाँदैछन् ।
आइतबारको निर्वाचनले कुनै पनि गुटलाई सरकार बनाउन आवश्यक बहुमतको नजिक पुर्याएन । यसबाट युरोपेली सङ्घ (ईयु) को दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र ठप्प हुने जोखिमलाई बढाएको छ । यद्यपि युरोपमा विभाजित संसद् अमान्य नभए पनि फ्रान्सको आधुनिक इतिहासमा यो अवस्था अभूतपूर्व छ ।
सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेताहरूले आफूले सरकार बनाउनुपर्ने बताएका छन् । गठबन्धनका तीन मुख्य दलहरू कट्टर वामपन्थी फ्रान्स अनबोड, सोसलिस्ट र ग्रिन्सले प्रधानमन्त्रीको उम्मेदवार खोज्न वार्ता सुरु गरेका छन् ।
उनीहरूको वार्ता आन्तरिक गुटबन्दीले जटिल छ । केहीले कट्टर वामपन्थी छविलाई जोड दिइरहेका छन् भने अन्यले मध्य–वामपन्थी नजिक बढी सहमत व्यक्तिलाई प्राथमिकता दिन्छन् । संसद्प्रति उत्तरदायी रहने फ्रान्सको प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिन्छ ।
फ्रान्स अनबोड र ग्रिन्सका सदस्यहरू मङ्गलबार बिहान नेसनल एसेम्बली पुगेका छन् । पूर्वराष्ट्रपति फ्राँस्वा ओलान्डलगायत सोसलिस्ट सांसदहरू दिउँसो भेला हुने भएका थिए ।
सोसलिस्ट पार्टीका शीर्ष वार्ताकार जोहान्ना रोल्यान्डले भावी प्रधानमन्त्री जिन–ल्युक मेलेनचोन नहुने बताए । धेरै नरमपन्थीहरूलाई क्रोधित तुल्याउनुभएका ल्युक मेलेनचोन फ्रान्स अनबोडका विभाजनकारी कट्टर वामपन्थी संस्थापक हुन् ।
मङ्गलबार फ्रान्स २ टेलिभिजनमा बोल्दै रोल्यान्डले वामपन्थी गठबन्धनले सम्भवतः म्याक्रोनको गठबन्धनको केन्द्र–वामपन्थी सदस्यहरूसँग काम गर्नसक्ने सुझाव दिए । “हामी खुला हुनेछौँ”, उनले भने ।
आधिकारिक नतिजाअनुसार फ्रान्सको दुई विधायिका सदनमध्ये सबैभन्दा शक्तिशाली ५७७ सिटको नेसनल एसेम्बलीलाई नियन्त्रण गर्न आवश्यक दुई सय ८९ सिट प्राप्त गर्न सबै तीन मुख्य ब्लक धेरै नै कम छन् ।
नतिजाअनुसार न्यु पपुलर फ्रन्ट वामपन्थी गठबन्धनलाई १८० भन्दा केही धेरै सिट प्राप्त भएको छ । म्याक्रोनको मध्यमार्गी गठबन्धनलाई १६० सिट प्राप्त भएको छ भने मरिन ले पेन र उहाँका सहयोगीहरूको अति दक्षिणपन्थी नेशनल र्यालीले तेस्रो स्थान हासिल गरेको छ ।
उसले १४० भन्दा धेरै सिट जितेको छ । सन् २०२२ मा उक्त पार्टी ८९ सिटमा विजयी भएको थियो । म्याक्रोनको राष्ट्रपति कार्यकाल तीन वर्ष बाँकी छ ।









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया